अनलाइन टुर प्याकेजको नाममा ठगी गर्ने दुई जना पक्राउ

काठमााडौं, १० साउन । अनलाइन माध्यमबाट विदेश भ्रमण गराउने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटकस्थित महेश्वर शान्तिनगरका ३० वर्षीय मोहम्मद यासिर रहेका छन्।

पोखरा महानगरपालिका–५ प्रस्याङमा घर भाडामा लिएर भारतीय नागरिकसहितका व्यक्तिहरूले एसिया र युरोपका विभिन्न देशमा घुमाउन लैजाने भन्दै अनलाइन ठगी गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामको संस्था स्थापना गरी १५ जना युवायुवतीलाई समेत परिचालन गरेर अनलाइन तथा फोनमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने गरेको खुलेको छ।

उनीहरूले ‘तीन रात चार दिनको छुट्टी भ्रमण कुपन भर्नुहोस् र जित्नुहोस्’, ‘दर्ता गर्नुहोस् र जित्नुहोस्’ तथा निश्चित उपहार पाइने भन्दै कुपन भर्न लगाएर रकम असुल गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट हालसम्म ३० जनालाई एसिया र युरोपका विभिन्न देशमा भ्रमण गराउने प्रलोभन देखाई कुपनमार्फत ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर, आठ थान विभिन्न रजिस्टर तथा अभिलेख पुस्तिका, छ थान कुपन रसिद, चार थान छाप तथा विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टी बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्