कर्जा विस्तार सुस्तिँदा सीडी रेशियो ७१ प्रतिशतभन्दा तल, बैंकमा निक्षेप थुप्रिने क्रम जारी

काठमााडौं, १० साउन । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग कमजोर बन्दै गएसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेशियो) ७१ प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन १ गते सीडी रेशियो घटेर ७०.७९ प्रतिशतमा पुगेको छ।

अघिल्लो दिन सीडी रेशियो ७१.०६ प्रतिशत रहेको थियो। एकै दिनमा रेशियोमा आएको गिरावटले बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको तथा कर्जा विस्तारको गति सुस्त रहेको संकेत गरेको छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८२ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ५९ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ।

सीडी रेशियो निरन्तर घट्नुले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको देखिए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार नबढेको संकेत गरेको छ। यसले अर्थतन्त्रमा नयाँ उद्योग, व्यवसाय तथा पूर्वाधार परियोजनामा लगानी विस्तारको गति अझै सुस्त रहेको आकलन गर्न सकिन्छ।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार कर्जाको मागमा सुधार नआएसम्म बैंकहरूमा तरलता पर्याप्त रहे पनि आर्थिक गतिविधिमा अपेक्षित गति आउन कठिन हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्