लघु जीवन बीमामा महिलाको सहभागिता बढी, जोखिमपूर्ण पेसामा रहेका पुरुष किन बाहिर ?

काठमााडौं, १० साउन । नेपाल बीमा प्राधिकरणको अध्ययन प्रतिवेदनले नेपालमा लघु जीवन बीमाको पहुँचमा पुरुषको तुलनामा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढी रहेको देखाएको छ। प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा लघु जीवन बीमामा महिलाको सहभागिता ६० प्रतिशतभन्दा माथि पुगेको छ। तर, जोखिमपूर्ण पेसामा पुरुषको सहभागिता अत्यधिक हुँदा पनि उनीहरू जीवन बीमाको सुरक्षा कवचमा अपेक्षाकृत कम समेटिनु बहसको विषय बनेको छ।

नेपालको कुल जनसंख्यामा महिलाको हिस्सा पुरुषभन्दा बढी रहेकाले जीवन बीमामा उनीहरूको सहभागिता बढ्नु स्वाभाविक मानिए पनि जोखिम र बीमा पहुँचबीचको असन्तुलनले नीतिगत प्रश्न उठाएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार समग्र बीमालेखका आधारमा करिब ४८ प्रतिशत जनसंख्या बीमा सुरक्षा कवचमा समेटिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि म्यादी जीवन बीमा अनिवार्य भएकाले पुरुषको उपस्थिति उल्लेख्य भए पनि बचतमुखी सावधिक जीवन बीमामा पुरुषको पहुँच अझै बढी रहेको प्राधिकरणको भनाइ छ।

यद्यपि, प्राधिकरणले सार्वजनिक गरेको लघु बीमा व्यवसायसम्बन्धी अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० पछि लघु जीवन बीमामा महिलाको सहभागितामा उल्लेखनीय वृद्धि भएको देखाएको छ। आर्थिक वर्ष २०७९/८० मा पुरुष बीमितको हिस्सा ६५.७५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ देखि महिला बीमितको हिस्सा ६९.४९ प्रतिशत पुगेको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा ६१.४१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ६१.४३ प्रतिशत महिला बीमित रहेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसमेत रहेको अध्ययन समितिले यसलाई बीमा क्षेत्रमा लैङ्गिक समावेशिताको सकारात्मक संकेतका रूपमा व्याख्या गरेको छ।

तर, राष्ट्रिय तथ्याङ्क कार्यालयको श्रमशक्ति सर्वेक्षणले फरक तस्वीर प्रस्तुत गरेको छ। सर्वेक्षणअनुसार कृषि, मत्स्यपालन र जडीबुटी खेतीबाहेक अधिकांश पेसामा पुरुष श्रमिकको संख्या महिलाभन्दा बढी छ। फलाम तथा धातुसँग सम्बन्धित उच्च जोखिमयुक्त काममा करिब ७८ प्रतिशतभन्दा बढी पुरुष कार्यरत छन् भने औद्योगिक क्षेत्रमा पनि पुरुषको सहभागिता अत्यधिक रहेको उल्लेख गरिएको छ।

यसले जोखिम बढी वहन गर्ने पुरुषको ठूलो हिस्सा जीवन बीमाको सुरक्षा कवचबाहिर किन रहिरहेको छ भन्ने प्रश्न उठाएको छ।

बीमा क्षेत्रमा कार्यरत जानकारहरूका अनुसार जोखिमको आधारमा बीमा पहुँच विस्तार गर्न आवश्यक छ। विशेषगरी निर्माण, उद्योग, धातु, यातायात तथा अन्य जोखिमयुक्त क्षेत्रमा कार्यरत श्रमिकलाई लक्षित गरी जीवन बीमा पहुँच बढाउने नीति आवश्यक रहेको उनीहरूको धारणा छ।

बीमा प्राधिकरणले जोखिममा रहेका श्रमिकलाई प्राथमिकतामा राख्दै जीवन बीमाको पहुँच विस्तार गर्न नीतिगत पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। जोखिम र बीमा सुरक्षाबीच सन्तुलन कायम गर्न सके मात्र जीवन बीमाको उद्देश्य प्रभावकारी रूपमा पूरा हुने जानकारहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्