नेपालको पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन हुँदै, एक महिनापछि पूर्ण सञ्चालनमा आउने
काठमााडौं, १० साउन । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको करिब १९ अर्ब रुपैयाँ लागतको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो रहेको छ। इभ्याकुएसन टनेल (निकास मार्ग) र क्रस–प्यासेजसमेत जोड्दा सुरुङभित्रको कुल लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ।
उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
चरणबद्ध रूपमा सञ्चालन
सडक विभागका अनुसार उद्घाटनलगत्तै सुरुङमार्गमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन गर्न अनुमति दिइनेछ।
त्यसपछि सुरुङभित्र सम्भावित आगलागी, दुर्घटना तथा अन्य विपद् व्यवस्थापनको तयारीका लागि ‘मक ड्रिल’ (नमूना अभ्यास) सञ्चालन गरिनेछ। अभ्यास सफल भएपछि करिब एक सातासम्म परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ।
यस अवधिमा जेट फ्यान, वायु उत्सर्जन प्रणाली, सञ्चार तथा सुरक्षा उपकरणको प्राविधिक परीक्षण र समन्वय गरिनेछ। सबै प्रणाली प्रभावकारी रूपमा सञ्चालन भएको पुष्टि भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला गरिने विभागले जनाएको छ।
मोटरसाइकल र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध
सुरक्षालाई प्राथमिकतामा राख्दै सुरुङमार्गमा मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। अन्य सवारीसाधन भने चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ।
प्राविधिक चुनौती पार गर्दै निर्माण सम्पन्न
जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसन ले वि.सं. २०७६ देखि निर्माण सुरु गरेको यो आयोजना ‘बिल अफ क्वान्टिटी (बीओक्यु)’ मोडलमा निर्माण गरिएको हो। सडक विभागले आफैं डिजाइन तथा सुपरीवेक्षण गर्दै जापानी प्राविधिक परामर्शदाताको सहयोगमा आयोजना अघि बढाएको थियो।
महानिर्देशक जैसीले प्राविधिक चुनौती, स्थानीय तहमा देखिएका केही अन्योल तथा निर्माणका विभिन्न अवरोध पार गर्दै आयोजना सफलतापूर्वक सम्पन्न भएको बताए।
उनले भने, “नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग उद्घाटनको चरणमा पुगेको छ। गुणस्तरीय सुरुङ निर्माण भएकोमा हामी विश्वस्त छौं। सुरक्षासम्बन्धी सबै प्रणाली परीक्षणपछि चरणबद्ध रूपमा सवारी सञ्चालन गरिनेछ र करिब एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने तयारी छ।”
उनले आफू परियोजनाको सुरुदेखि नै प्रत्यक्ष रूपमा संलग्न रहेको उल्लेख गर्दै मुख्य सुरुङ र इभ्याकुएसन टनेल दुवैको ‘ब्रेकथ्रु’ तथा उद्घाटन आफ्नै कार्यकालमा हुन लागेको विषय सडक विभाग र राष्ट्रकै लागि गौरवको क्षण भएको बताए।
यात्रामा सहजता र जोखिम न्यूनीकरण
नागढुङ्गाको कठिन उकालो, लामो ट्राफिक जाम तथा वर्षायाममा हुने पहिरोको जोखिम कम गर्ने उद्देश्यले निर्माण गरिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डमा यात्रा थप सुरक्षित, छिटो र सहज हुने अपेक्षा गरिएको छ।
सरकारले यो आयोजनालाई नेपालको आधुनिक सडक पूर्वाधार विकासको नयाँ अध्यायका रूपमा लिँदै भविष्यमा अन्य सुरुङमार्ग निर्माणका लागि समेत यसले आत्मविश्वास र अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्