निफ्राको खुद नाफा २० प्रतिशतले घट्यो, कर्जा प्रवाहमा भने २६ प्रतिशत वृद्धि
काठमाडौं, ७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको खुद नाफा करिब २० प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९० करोड ८ लाख रुपैयाँ रहेको थियो।
यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। गत असार मसान्तसम्म यस्तो आम्दानी ५ करोड ८० लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा २ करोड १० लाख रुपैयाँ मात्रै थियो।
वित्तीय विवरणअनुसार बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ५० करोड ४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यी सूचक क्रमशः १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ र १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थिए।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा समीक्षा अवधिसम्म ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ५.७१ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा ४.५७ रुपैयाँमा झरेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ५३.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ कायम भएको छ।
यद्यपि, बैंकको निक्षेप र कर्जा प्रवाहमा वृद्धि भएको छ। गत असार मसान्तसम्म बैंकको निक्षेप १.९४ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह २५.९६ प्रतिशतले वृद्धि भई ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ र कर्जा प्रवाह २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ रहेको थियो।













प्रतिक्रिया दिनुहोस्