दिल्लीमा सिजेपीको प्रदर्शन चौथो दिन पनि जारी, सुरक्षा व्यवस्था कडा

काठमाडौं, ७ साउन । भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको प्रदर्शन बिहीबार पनि जारी रहेको छ। सोमबारदेखि सुरु भएको आन्दोलन चौथो दिनमा प्रवेश गर्दा जन्तर मन्तर क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीहरू भेला भएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार आन्दोलनलाई मध्यनजर गर्दै जन्तर मन्तर आसपास बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। आन्दोलन उग्र बन्दै गएपछि पश्चिम बंगालबाट थप २० कम्पनी प्रहरी बल दिल्ली बोलाइएको छ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेटरिएट र सुप्रिम कोर्टसहित १६ वटा मेट्रो स्टेशन बिहीबार बिहान ७:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाएको छ। ती स्टेशन बुधबार पनि बन्द गरिएका थिए।

बुधबार संसद मार्ग क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो। दिल्ली प्रहरीका अनुसार झडपमा दुई एसीपी, एक इन्स्पेक्टर, एक हेड कन्स्टेबल र एक कन्स्टेबलसहित पाँच जना प्रहरी घाइते भएका छन्।

यता सिजेपीले आन्दोलनस्थल बाहिर पूर्ण रूपमा क्षतिग्रस्त कार राखिएको भन्दै दिल्ली प्रहरीको नियतमाथि प्रश्न उठाएको छ। पार्टीले सामाजिक सञ्जाल एक्समार्फत कारका फुटेका सिसा र झ्यालको तस्बिर सार्वजनिक गर्दै शान्तिपूर्ण आन्दोलनकारीमाथि दोष थोपर्ने प्रयास भइरहेको आरोप लगाएको छ।

बुधबार अधिकांश समय जन्तर मन्तर क्षेत्रमा प्रदर्शन शान्तिपूर्ण रहे पनि प्रदर्शनकारी संसद मार्गतर्फ अघि बढेपछि तनाव चर्किएको थियो। त्यसक्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

सिजेपीले आन्दोलनस्थल आसपास इन्टरनेट सेवा अवरुद्ध गरिएको आरोप पनि लगाएको छ। पार्टी संयोजक अभिजीत दिप्केले सरकार थप दमनकारी कदम चाल्ने तयारीमा रहेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।

पार्टीका प्रवक्ता सौरभ दासले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आन्दोलनको प्रमुख माग रहेको र उक्त मागबाट पछि नहट्ने स्पष्ट पारे। उनले जलवायु अभियन्ता सोनम वाङचुकसँग निरन्तर संवाद भइरहेको र आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने सहमति भएको जानकारी दिए।

यसैबीच सोनम वाङचुकले बुधबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग भेटवार्ता भएको र सरकारले नीट प्रश्नपत्र लिक प्रकरणबारे संसदमा छलफल गर्न सकारात्मक संकेत दिएको बताएका छन्। उनले आन्दोलनमा सहभागी विद्यार्थी वा प्रदर्शनकारीमाथि कुनै कानुनी कारबाही नहुने स्पष्ट आश्वासन पाएपछि मात्र आफ्नो अनिश्चितकालीन अनशन तोड्ने बताएका छन्।

उता विपक्षी दलहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाविना नीट प्रश्नपत्र लिक प्रकरणमा निष्पक्ष संसदीय छलफल सम्भव नभएको अडान दोहोर्याएका छन्। कांग्रेस अध्यक्ष तथा राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेले पनि शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म यस विषयमा संसदमा अर्थपूर्ण छलफल हुन नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्