प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दै
काठमाडौं, ७ साउन । प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । यस अघि विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका शाहले आज चिया उद्योगीसँगको भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेनले हिजो हस्तकला महासंघका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । त्यसअघि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए ।
प्रधानमन्त्री बालेनले आज भने अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि(स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुलाई भेटघाटमा बोलाएका छन् ।
नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा बजार अवस्थाले नेपाली चियाको व्यापार प्रभावित हुने गरेको छ ।
भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध भएको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुन पुगेका थिए । उद्योग बन्द हुँदा नेपालको चिया उद्योगमा निर्भर कामदारहरुसमेत प्रभावित भएका थिए । प्रधानमन्त्रीसँगको आजको भेटमा यस विषयमासमेत छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शाहले यी छलफलहरुमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएका छैनन् । यसले गर्दा तालुकदार मन्त्रालयलाई काम गर्न असपष्टता हुन सक्छ ।













प्रतिक्रिया दिनुहोस्