नेपाल लाइफका अभिकर्ताद्वारा आक्रामक बीमा व्यवसाय, मदन भट्ट लगातार पाँचौं पटक नेपाल टप

काठमाडौ, ६ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय जीवन बीमा व्यवसाय गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। कम्पनीका अनुसार अभिकर्ताहरूको सक्रियताबाट देशभर लाखौं नागरिकलाई जीवन बीमाको दायरामा ल्याउन सफलता मिलेको छ।

कम्पनीका हजारौं अभिकर्तामध्ये कैलाली शाखामा आबद्ध मदन भट्ट व्यक्तिगत कोडतर्फ उत्कृष्ट अभिकर्ता घोषित भएका छन्। उनले गत आर्थिक वर्षमा आफ्नो व्यक्तिगत कोडमार्फत ७ करोड ७६ लाख ९१ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गर्दै लगातार पाँचौं पटक नेपाल टप अभिकर्ता बन्न सफल भएका हुन्।

नेपाल लाइफका अनुसार भट्टले विगत केही वर्षदेखि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै जीवन बीमा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनले कैलालीसहित देशका विभिन्न स्थानका हजारौं नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याएर उनीहरूको आर्थिक सुरक्षामा योगदान दिएको कम्पनीले जनाएको छ।

यस्तै, टिम व्यवसायतर्फ बसन्त शर्मा उत्कृष्ट बनेका छन्। उनले आफ्नो टिम कोडमार्फत १३ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा व्यवसाय भित्र्याएर टिम बिजनेसमा पहिलो स्थान हासिल गरेका छन्।

नेपाल लाइफले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई विभिन्न कार्यक्रममार्फत सम्मान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार व्यवस्थापनको सहयोग, शाखा कार्यालयहरूको समन्वय तथा अभिकर्ताहरूको निरन्तर मेहनतका कारण कम्पनीले जीवन बीमा व्यवसायमा अग्रणी स्थान कायम राख्न सफल भएको हो।

कम्पनीले आगामी दिनमा पनि बीमाप्रतिको जनचेतना विस्तार गर्दै थप नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्यका साथ अभिकर्तामार्फत व्यवसाय विस्तारलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्