बाढी–पहिरोले सिनर्जी पावरको १० मेगावाटको आयोजना क्षतिग्रस्त, विद्युत उत्पादन बन्द

काठमाडौ, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजना बाढी तथा पहिरोका कारण क्षतिग्रस्त भएपछि विद्युत उत्पादन बन्द भएको छ।

कम्पनीका अनुसार साउन ५ गते राति ११ बजे आएको बाढी र पहिरोका कारण आयोजनाको हेडवर्कसका अधिकांश संरचनामा क्षति पुगेको हो। क्षतिका कारण १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको छ।

बाढी तथा पहिरोले आयोजनाको संरचनामा ठूलो क्षति पुर्‍याएपछि मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

यस घटनामा पहिरोका कारण एक जना वृद्ध बेपत्ता भएको प्रहरीले जनाएको छ भने आयोजनामा कार्यरत चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ।

कम्पनीले क्षतिको विस्तृत विवरण तथा पुनः विद्युत उत्पादन सुरु हुने समयबारे थप जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्