तनहुँमा बस दुर्घटना, चालक गम्भीर घाइते, १४ यात्रु घाइते
काठमाडौं, ५ साउन । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक मंगलबार बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकको नियन्त्रणबाट बाहिरिएर कलेस्ती खोलाको पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बस चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियार चालक सिटमै च्यापिएका थिए। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहितको उद्धार टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालक परियारको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ।
बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा घाइते भएका अन्य १४ जनाको रत्नहरी अस्पताल, तनहुँमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्