सल्यानका दुई सामुदायिक वनबाट छ थान अवैध भरुवा बन्दुक बरामद
काठमाडौं, ४ साउन । जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका छ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनबाट चार थान र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार सामुदायिक वनमा अवैध बन्दुक लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौरबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा बन्दुक बरामद गरेको हो।
बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्