सिक्काबाट नेपालको नक्सा हटाउने प्रस्ताव मन्त्रिपरिषद्बाट मफिर्ता, घार गुम्बासहित नयाँ डिजाइन ल्याउन निर्देशन

काठमाडौं, ४ साउन । एक रुपैयाँको सिक्कामा नेपालको नक्साको स्थानमा मुस्ताङको घार गुम्बाको तस्वीर राख्ने नेपाल राष्ट्र बैंकको प्रस्ताव मन्त्रिपरिषद्ले फिर्ता पठाएको छ।

नेपाल राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिले तयार पारेको नयाँ डिजाइन बैंकको सञ्चालक समितिबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको थियो। तर मन्त्रिपरिषद्ले सिक्काको नयाँ डिजाइनमा नेपालको नक्सासमेत समावेश गरेर पुनः प्रस्ताव ल्याउन निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्न वा परिवर्तन गर्न मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्छ।

राष्ट्र बैंकले एक रुपैयाँ र १० रुपैयाँको सिक्काको डिजाइनसँगै टकमरी गर्ने धातु र तौलसमेत परिवर्तन गर्ने प्रस्ताव गरेको थियो। हाल एक रुपैयाँको सिक्कामा नेपालको नक्सा रहेको छ। प्रस्तावित डिजाइनमा भने त्यसको स्थानमा मुस्ताङको घार गुम्बाको तस्वीर राख्ने योजना थियो।

राष्ट्र बैंक स्रोतका अनुसार सिक्कामा घार गुम्बाको तस्वीर राख्नुको उद्देश्य धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गराउनु र गुम्बाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनु रहेको थियो।

“नेपालका सबै नोट तथा सिक्कामा नेपालको नक्सा छैन। त्यसैले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घार गुम्बाको तस्वीर राख्ने प्रस्ताव गरिएको थियो,” स्रोतले भन्यो।

प्रधानमन्त्री कार्यालय स्रोतले पनि मुख्य सचिवले अर्थ सचिवलाई नयाँ डिजाइनमा नेपालको नक्सा समावेश गरेर प्रस्ताव ल्याउन भनिएको पुष्टि गरेको छ।

राष्ट्र बैंक र प्रधानमन्त्री कार्यालय दुवैतर्फका स्रोतले सिक्काको डिजाइन परिवर्तन राजनीतिक उद्देश्यबाट प्रेरित नभएको दाबी गरेका छन्। प्रस्तावित डिजाइनको प्रक्रिया वर्तमान सरकार गठन हुनुभन्दा अघिदेखि नै सुरु भएको उनीहरूको भनाइ छ।

एक रुपैयाँको सिक्का अब सेतो धातुको बनाउने तयारी

राष्ट्र बैंकले एक रुपैयाँको सिक्काको धातु परिवर्तन गर्ने प्रस्तावसमेत गरेको छ। हाल पहेँलो धातुबाट बनेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा लागत बढी पर्ने भएकाले सेतो धातु प्रयोग गर्ने तयारी गरिएको हो।

स्रोतका अनुसार हाल एक रुपैयाँको सिक्का उत्पादन खर्च नै दुई रुपैयाँभन्दा बढी पर्ने भएकाले लागत घटाउन र तौल कम गर्न नयाँ धातु प्रयोग गर्न लागिएको हो।

१० रुपैयाँको सिक्कामा भूर्ति देवल राख्ने प्रस्ताव

राष्ट्र बैंकले १० रुपैयाँको सिक्काको डिजाइन पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ। तत्काल नयाँ सिक्का उत्पादन गर्ने योजना नभए पनि भविष्यमा टकमरी गर्नुपर्ने अवस्थामा प्रयोग गर्ने गरी डिजाइन तयार पारिएको हो।

१० रुपैयाँको सिक्कामा दैलेखको भूर्ति देवलको तस्वीर राख्ने प्रस्ताव गरिएको छ। दैलेखको नारायण नगरपालिका–७ मा रहेका २२ वटा देवल कर्णाली क्षेत्रको खस मल्लकालीन सम्पदा मानिन्छन्।

घार गुम्बाको ऐतिहासिक महत्व

मुस्ताङको उपल्लो क्षेत्रमा रहेको घार गुम्बा, जसलाई लो घेकर गुम्बा पनि भनिन्छ, नेपालको सबैभन्दा पुरानो बौद्ध गुम्बामध्ये एक मानिन्छ।

आठौं शताब्दीमा गुरु पद्मसम्भवसँग जोडिएको यो गुम्बा विश्वकै पुराना बौद्ध सम्पदामध्ये एकका रूपमा चिनिन्छ। यसै गुम्बाको नामबाट मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको नामकरणसमेत गरिएको छ।

सिक्का डिजाइन परिवर्तन प्रक्रिया

नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली २०५९ अनुसार नयाँ नोट वा सिक्काको डिजाइन तयार गर्ने जिम्मेवारी डिजाइन समितिको हुन्छ। समितिको अध्यक्ष राष्ट्र बैंकका गभर्नर रहने व्यवस्था छ।

समितिले तयार गरेको डिजाइन राष्ट्र बैंक सञ्चालक समितिले स्वीकृत गरेपछि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा अन्तिम स्वीकृतिका लागि पठाइन्छ। मन्त्रिपरिषद्को स्वीकृति पाएपछि मात्र नयाँ डिजाइनका नोट वा सिक्का चलनचल्तीमा ल्याउन सकिने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्