रुपन्देहीको सैनामैनामा १५३.२ मिमि वर्षा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैना क्षेत्रमा सबैभन्दा बढी १५३.२ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

विभागकी मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो छ घण्टामा भने देशका कुनै पनि क्षेत्रमा भारी वर्षा नभई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। लुम्बिनी प्रदेशको पश्चिमी तराईमा २४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमानअनुसार कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्