चितवनका दुई स्थानको पहिरो पन्छाइयो, धादिङतर्फ अवरोध कायम हुँदा पृथ्वी राजमार्ग अझै पूर्ण सञ्चालनमा आएन
काठमाडौं, ४ साउन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा खसेको पहिरो पन्छाइएको छ। आज बिहान खसेको पहिरो हटाएपछि बिहान ९ः३० बजेदेखि उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको हो।
यद्यपि, धादिङको जवाङ खोलामा पहिरो खसेर सडक अवरुद्ध रहेकाले पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनतर्फको पहिरो हटाइए पनि धादिङतर्फको अवरोध कायम रहेकाले चितवनबाट पृथ्वी राजमार्ग हुँदै जाने सवारीसाधनलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकिएको छ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने–आउने सवारीसाधन भने बिहानैदेखि सञ्चालनमा रहेका छन्।
लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले गएरातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाएको थियो। रातिदेखि रोकिएका सवारीसाधन अझै गन्तव्यतर्फ जान नसक्दा विभिन्न स्थानमा लामो सवारी जाम लागेको छ।
प्रशासनले धादिङतर्फको पहिरो हटाउने कार्य जारी रहेको जनाएको छ। यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।













प्रतिक्रिया दिनुहोस्