मुग्लिन सडकमा ओभरटेकले बढायो दुर्घटना, चालकलाई ट्राफिक नियम पालना गर्न प्रशासनको आग्रह

काठमाडौं, ३ असार । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

आइतबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सडक अवरुद्धसमेत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । उनले पछिल्लो समय ओभरटेक नै दुर्घटना र सवारीजामको मुख्य कारण बन्दै गएको बताए ।

उनका अनुसार ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो समयसम्म सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो खुलाउन समस्या हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको छ ।

“आज बिहानको दुर्घटनामा पनि सवारीजामका कारण उद्धार कार्य प्रभावित भयो,” पौडेलले भने ।

बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो । बिहान ५ः३० बजे सडक खुलेपछि चालकहरूले हतारमा ओभरटेक गर्दा दुर्घटना भएको प्रशासनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै घटाउन सकिने बताए । उनले नियम पालना गर्दा चालक र यात्रु दुवै सुरक्षित हुने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोक्नुपरेको बताए । सडक खुलेपछि चालकलाई आफ्नै लेनमा रहेर सुरक्षित रूपमा सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न उनले आग्रह गरे ।

उनले यातायात व्यवस्थापनलाई सुरक्षित र सहज बनाउन प्रशासनसँगै चालक तथा यात्रुको पनि समान भूमिका रहने बताए । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै उनले सबैलाई नियम पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्