देशभरका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

काठमाडौं, ३ असार । जुम्ला र खोटाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ।

जुम्लाको तातोपानीमा जडिबुटी खाँदा वृद्धको मृत्यु

जुम्लाको तातोपानी गाउँपालिका–१ का ६५ वर्षीय दलजित सार्कीको जंगली जडिबुटी खाएपछि उपचारका क्रममा मृत्यु भएको छ।

स्थानीयका अनुसार उनले आज बिहान करिब ३:१५ बजे सतुवा नामको जडिबुटी खाएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

जुम्लामा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो

जुम्लाको चन्दननाथ नगरपालिका बसपार्क क्षेत्रमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार जुम्ला बजारबाट रारालिहीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००१ प २७८२ नम्बरको स्कुटर शनिबार बेलुका अनियन्त्रित भएर सडक किनारमा पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दैलेखको दुल्लु नगरपालिका–३ का ४८ वर्षीय मिनबहादुर साउदको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

खोटाङमा खहरे खोलाले बगाउँदा वृद्धको मृत्यु

खोटाङको केपिलासगढी गाउँपालिका–४ गैरीगाउँमा खहरे खोला तर्ने क्रममा बगेर ७१ वर्षीय परशुराम परियारको मृत्यु भएको छ।

प्रहरीका अनुसार उनी शुक्रबार बेलुकी करिब ७ बजे खोला तर्ने क्रममा बगेका थिए। खोजतलासका क्रममा बगाएको स्थानबाट करिब १०० मिटर तल झ्याङमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाक्सिला, खोटाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्