स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाली जुत्ता–चप्पल उद्योगको विकासका लागि सरकार सहयोगी भूमिका निर्वाह गर्ने बताएका हुन्।

उनले तीनै तहका सरकारबीच समन्वय गरी जुत्ता–चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने तथा नेपाली उत्पादनको प्रवर्द्धन र बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए।

प्रधानमन्त्री शाहले उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको व्यवस्थालाई व्यवस्थित बनाउन ट्रयाकिङ तथा अभिलेख व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गरे।

छलफलका क्रममा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका प्रतिनिधिहरूले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले करको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता–चप्पलको आयात रोक्न तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था लागू गर्न माग गरेका थिए।

सङ्घका प्रतिनिधिहरूले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री वातावरण उपलब्ध भए नेपाली जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरेका थिए।

छलफलमा एफएमएएनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्