सरकारको निर्णय : अब नयाँ करार कर्मचारी भर्ना गर्न नपाइने
काठमाडौं, १ साउन । सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त गर्न रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ करार नियुक्ति नगर्ने निर्णय गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, विभाग तथा सरकारी निकायलाई परिपत्र जारी गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
परिपत्रअनुसार कर्मचारी अभाव भएका कार्यालयमा नयाँ करार कर्मचारी भर्ना गर्न नपाइनेछ। त्यस्ता स्थानमा आवश्यक जनशक्ति पूर्ति गर्न ‘पुल’मा रहेका करार कर्मचारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी करार सम्झौताका आधारमा खटाउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत एकीकरण वा खारेजीको प्रक्रियामा रहेका निकायमा भने प्रक्रिया पूरा नहुँदासम्म सम्पत्ति संरक्षण, सुरक्षा तथा दायित्व हस्तान्तरणका लागि आवश्यक न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीमध्येबाटै व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षरसहित जारी परिपत्रमा मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ।













प्रतिक्रिया दिनुहोस्