१५ सदस्यीय विशेष संसदीय सुनुवाई समिति हुने
काठमाडौं । १५ संसदीय सुनुवाइ विशेष समिति हुने भएको छ । आइतबार संघीय संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समिति १५ सदस्यीय प्रस्ताव गरिएको हो ।
समितिमा १२ जना प्रतिनिधिसभाबाट र ३ जना राष्ट्रियसभाबाट समावेश गरिने नियमावलीको मस्यौदाकार समेत रहेका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।
नियमावलीमा संयुक्त बैठक र अधिवेशन कसले आहृवान गर्ने, प्रतिनिधिसभाले पारित गरेको र राष्ट्रियसभाले अस्वीकार गरेको विधेयक तथा प्रतिनिधिसभाले संशोधनसहित पठाएको तर राष्ट्रियसभा सहमत हुन नसकेको विधेयकहरु संयुक्त सदनमा पेश गर्नेलगायतका विषय राखिएको छ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संघीय संसदमा आइतबार पेश भएको थियो । नियमावलीमा ८ परिच्छेद ४३ नियम र एक अनुसूची रहेको छ ।
नियमावलीमा राष्ट्रपतिको संबोधन, महाभियोग, राजस्व र व्ययको अनुमान, सन्धी सम्झौता पारित कसरी गर्ने भन्ने विषय सहमतिमा टुंग्याएको पोखरेलले बताए ।
संयुक्त बैठक सञ्चालन नियमावली निर्माणको जिम्मा प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली मस्यौदा समितिलाई नै दिइएको थियो । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापतिसमेत रहेका सांसद पोखरेलले केही मतभिन्नता भए पनि सर्वसम्मतिले नियमावली निर्माण गरेको बताए ।
नियमावलीमा संशोधन राख्न असार ४ र ५ गतेको समय दिइएको छ । त्यसपछि उक्त नियमावलीमाथि संघीय संसदको असार ८ गते बस्ने संयुक्त बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्