बाख्रा चराउन गएका जाजरकोटका युवक मृत फेला
काठमाडौं, ३० असार । जाजरकोटका एक युवकको शव सुर्खेतको भेरी नदी किनारमा फेला परेको छ।
मृतक जुनिचाँदे गाउँपालिका–१ का ४५ वर्षीय कर्णबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार रावतको शव गुर्भाकोट नगरपालिका–११ स्थित बर्माघाट क्षेत्रमा भेरी नदी किनारमा फेला परेको हो। सोमबार बेलुका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी चौकी मेहलकुनाबाट प्रहरी नायब निरीक्षक मनिष गुरुङको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शवगृहमा राखिएको थियो। मंगलबार मृतकका छोरा गणेश रावतले शवको सनाखत गरी बुझेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार कर्णबहादुर रावत असार २५ गते घरबाट बाख्रा चराउन निस्किएका थिए। सोही क्रममा भीरबाट लडेर खोलामा खसेका र खोलाले बगाएर बेपत्ता बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार खोलाले बगाउँदै उनलाई भेरी नदीसम्म पुर्याएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्