पहिरोले अवरुद्ध भयो मध्यपहाडी लोकमार्ग, सयौं यात्रु अलपत्र
काठमाडौं, ३० असार । अविरल वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
जिल्लाको काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा मंगलबार बिहान ठूलो पहिरो खस्दा बागलुङ–बुर्तिबाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सोमबारदेखि निरन्तर परेको वर्षाका कारण सडकमाथिबाट ठूलो पहिरोसँगै ढुङ्गा खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
सडक अवरुद्ध भएपछि पोखरा र काठमाडौंतर्फ जाने तथा काठमाडौंबाट बुर्तिबाङ, रोल्पा, रुकुम, डोल्पालगायत पश्चिम नेपालका विभिन्न जिल्लातर्फ गइरहेका यात्रुवाहक बस तथा अन्य सवारीसाधन बाटोमै रोकिएका छन्।
प्रहरीका अनुसार सडकमा ठूलो परिमाणमा पहिरो र ढुङ्गा थुप्रिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन भएको छ। पहिरो हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहेको भए पनि सडक खुल्न केही समय लाग्ने अनुमान गरिएको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक उक्त सडकखण्डमा यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्