सञ्चारगृहका गेटमा शंकास्पद पार्किङ गरी अवरोध सिर्जना गरिएको भन्दै पत्रकार महासंघको आपत्ति

काठमाडौं, २९ असार । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालय प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरी पत्रकारलाई नियमित सञ्चारकर्ममा जान समस्या पारिएको उल्लेख गरेको छ।

महासंघले तत्काल अवरोध हटाई सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको र सञ्चारकर्मीको निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न पहल भइरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्