एसईईको नतिजा एक साताभित्रै सार्वजनिक हुने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेको भन्दै असार १० गतेभित्रै रिजल्ट आउने बताए ।

प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको पनि रेग्मीले बताए । यसअघि प्राविधिक विषयहरुको नतिजा ढिला प्रकाशित हुने गरेको थियो । प्राविधिक तर्फ करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेशलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्