बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन
काठमाडौं, २९ असार । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा केही स्थानमा यातायात पूर्ण रूपमा ठप्प भएको छ भने केही सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।
सडक विभागका अनुसार २०८३ असोज २९ गते बिहान ६:३० बजेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न राजमार्गमा बाढी र पहिरोको प्रभाव देखिएको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तिल्केनी–सिमलगोला सडकको जोगमाई र इलाम–बेलासी सडकखण्डको पुवाखोला डाइभर्सन बाढीले बगाएपछि यातायात प्रभावित भएको हो।
बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ तथा सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरो र बाढीका कारण प्रभावित भएका छन्। यसैबीच, कोदारी क्षेत्रमा सडक भासिएपछि अवरुद्ध भएको सडक भने खुलिसकेको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन्।
गण्डकी प्रदेशमा कास्कीको पोखरा–ताउतिङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
लुम्बिनी प्रदेशमा रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ भने पाल्पाको सिद्धार्थ राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्