विराटनगरमा पोखरीमा हाम्फालेका १७ वर्षीय युवकको शव फेला, स्थानीयको प्रदर्शन
काठमाडौं, २६ असार । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीलाई देखेर पोखरीमा हाम्फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान फेला परेको छ।
मोरङ प्रहरीका अनुसार बुधबार बिहान गाँजा तस्करीमा संलग्न समूहलाई पक्राउ गर्न सीमावर्ती क्षेत्र भेडियारी पुगेको प्रहरी टोलीलाई देखेपछि मञ्जितले मोटरसाइकल छाडेर पोखरीमा हाम्फालेका थिए। उनी त्यसयता बेपत्ता थिए।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजीकै क्रममा शुक्रबार बिहान पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा मञ्जितको शव फेला परेको हो।
घटनाका क्रममा मञ्जितसँगै भारतीय नम्बर प्लेट बीआर ५० एएल ३६८७ को मोटरसाइकलमा सवार रहेका भारतका ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट ६ किलो १२० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
युवकको शव फेला परेपछि स्थानीयवासीले प्रहरीको कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्