राहदानी विभाग अगाडि आत्मदाह प्रयासको घटना संसद्मा: कांग्रेसले सरकारको जवाफदेहिता माग्यो
काठमाडौं, २६ असार । नेपाली कांग्रेसले राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गर्न बाध्य भएको भन्दै सरकारसँग जवाफदेहिता मागेको छ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बिहीबार राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटना गम्भीर भएको बताइन्। उनले यस्तो अवस्था सिर्जना हुनु राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएको उल्लेख गरिन्।
थापाले २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रेम आचार्यले गरेको आत्मदाहको घटनासमेत स्मरण गरिन्। त्यसबेला काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन शाहले उक्त घटनालाई राज्यको नीतिसँग जोडेर सार्वजनिक रूपमा धारणा व्यक्त गरेको उल्लेख गर्दै उनले अहिले प्रधानमन्त्रीको भूमिकामा रहँदा किन मौन रहेको भन्ने प्रश्न उठाइन्।
उनले संसद्मा प्रश्न गर्दै भनिन्, “प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झनुभएको छ कि बिर्सनुभयो प्रधानमन्त्रीज्यू?”
थापाले विगतमा सरकारप्रति प्रश्न उठाउने नेतृत्व अहिले स्वयं सत्तामा रहँदा यस्ता घटनामा स्पष्ट धारणा र प्रभावकारी कदम नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।













प्रतिक्रिया दिनुहोस्