त्रिपुरेश्वरमा शरीरमा आगो लगाउने युवकको अवस्था गम्भीर, वीर अस्पतालमा उपचार जारी
काठमाडौं। , २५ असार । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै बिहीबार एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ स्थित राहदानी विभागको ३ नम्बर गेट नजिक उक्त घटना भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार युवकले आफू चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका थिए। महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखिएको भन्दै ह्वील लक लगाएपछि उनी आक्रोशित बनेका थिए। सोही विषयमा विवाद भएपछि उनले यस्तो कदम चालेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल आगो निभाएर उनको उद्धार गरेको थियो। त्यसपछि उनलाई उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याइएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घाइते युवकको शरीरका विभिन्न भाग जलेका छन् र उनको अवस्था गम्भीर रहेको छ। उनी हाल सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्