रानीकुवा : लमजुङ दरबारको इतिहास बोकेको मौन सम्पदा

काठमाडौं। , २५ असार । बेँसीसहर सडकखण्ड हुँदै यात्रा गर्ने जो–कोहीको नजर सडक छेउमा रहेको एउटा पुरानो कुवामा पर्छ। धेरैका लागि यो सामान्य पानीको कुवा जस्तो देखिए पनि यसको इतिहास तत्कालीन लमजुङ राज्यसँग जोडिएको स्थानीय विश्वास छ।

बेँसीसहर नगरपालिका–३ को गाउँसहर क्षेत्रमा अवस्थित रानीकुवा स्थानीय जनश्रुतिअनुसार तत्कालीन लमजुङ दरबारका रानी तथा राजपरिवारले प्रयोग गर्ने कुवा हो। दरबार आउने–जाने मार्गमा पर्ने भएकाले यसलाई सुरक्षित खानेपानीको मुख्य स्रोतका रूपमा प्रयोग गरिन्थ्यो र त्यसैबाट यसको नाम ‘रानीकुवा’ रहन गएको विश्वास गरिन्छ। यद्यपि, यसलाई पुष्टि गर्ने शिलालेख वा आधिकारिक ऐतिहासिक अभिलेख भने हालसम्म फेला परेको छैन।

गाउँसहर क्षेत्र तत्कालीन लमजुङ राज्यको महत्वपूर्ण प्रशासनिक तथा सांस्कृतिक केन्द्र मानिन्छ। यही क्षेत्रमा पुरानो दरबार, धार्मिक स्थल तथा अन्य ऐतिहासिक संरचना रहेकाले रानीकुवा पनि सोही ऐतिहासिक परिवेशको अभिन्न अङ्गका रूपमा विकसित भएको स्थानीय इतिहासकारहरूको भनाइ छ।

८६ वर्षीय स्थानीय बासिन्दा माधवप्रसाद घिमिरेका अनुसार सुरुमा यो कुवा राजपरिवारको प्रयोगमा सीमित थियो। पछि बस्ती विस्तार भएसँगै स्थानीय बासिन्दाले पनि यसको पानी प्रयोग गर्न थाले। आधुनिक खानेपानीको पहुँच बढेपछि यसको दैनिक प्रयोग घटे पनि ऐतिहासिक महत्व भने यथावत् रहेको उनले बताए।

स्थानीय इतिहासका जानकार अङ्गराज घिमिरेका अनुसार अहिले सडक रहेको स्थानमा पहिले गोरेटो बाटो थियो। त्यहाँ रहेको ‘रानी चौतारा’मा यात्रुहरूले विश्राम गर्ने र यही कुवाको पानी पिउने गर्थे। उनका अनुसार तत्कालीन रानीहरूले पनि यही क्षेत्रमा आउने, स्नान गर्ने तथा कुवाको पानी प्रयोग गर्ने गरेको जनश्रुति रहेको छ।

घिमिरेका अनुसार लमजुङका प्रथम राजा यशोब्रह्म शाहलाई लमजुङ ल्याउन कुस्माखर घिमिरेले महत्वपूर्ण भूमिका खेलेका थिए। स्थानीय जनश्रुतिमा उनी ज्योतिष, राजनीतिक दूरदर्शिता तथा नेपालको प्रारम्भिक राष्ट्रिय झण्डाको अवधारणासँग समेत जोडिने व्यक्तित्वका रूपमा उल्लेख गरिन्छ। यद्यपि, यी दाबीहरू ऐतिहासिक अनुसन्धानबाट पूर्ण रूपमा पुष्टि हुन बाँकी छन्।

लमजुङ दरबार संरक्षण समितिका अध्यक्ष राजेन्द्र बोहोराले रानीकुवा र लमजुङ दरबार एकअर्कासँग जोडिएका सम्पदा भएको बताए। उनका अनुसार दरबार क्षेत्र, रानीकुवा, रानी चौतारा तथा अन्य ऐतिहासिक संरचनाको दीर्घकालीन संरक्षण, व्यवस्थापन र पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको छ।

उनले पर्याप्त संरक्षणको अभाव, प्राकृतिक क्षय तथा बढ्दो मानवीय चापका कारण सम्पदाको मौलिकता जोगाउन चुनौती थपिएको बताए। दरबार क्षेत्रमा रहेको ऐतिहासिक धारामा अहिले पनि चैतेदसैँ र फूलपातीका अवसरमा स्नान गरेर मेला जाने परम्परा कायम रहेको उनको भनाइ छ।

बेँसीसहर नगरपालिका–३ का वडाध्यक्ष चित्रबहादुर दनाईका अनुसार रानीकुवा क्षेत्रको संरक्षण र सौन्दर्यीकरणका लागि केही वर्षअघि करिब छ लाख रुपैयाँको लागतमा रानीपार्क निर्माण गरिएको थियो। रानीकुवा, लमजुङ दरबार तथा आसपासका ऐतिहासिक स्थललाई एउटै पर्यटन परिपथका रूपमा विकास गर्ने योजना स्थानीय तहले अघि बढाएको उनले जानकारी दिए।

यसैबीच रानीकुवा परिसरमा कुस्माखर घिमिरेको शालिक निर्माण अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय प्रतिष्ठान समितिका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार स्थानीय घिमिरे परिवारले जग्गा उपलब्ध गराएपछि गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको शालिकको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। भक्तपुरमा निर्माण गरिएको शालिक परिसरमा ल्याइसकिएको र उपयुक्त मितिमा स्थापना गरिने उनले बताए।

उनका अनुसार रानीकुवा र आसपासको क्षेत्र पुरातात्त्विक दृष्टिले महत्वपूर्ण भएकाले पुरातत्व विभागसँग समन्वय गरी संरक्षण, अध्ययन, अभिलेखीकरण तथा पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन आवश्यक छ।

स्थानीयवासीका अनुसार रानीकुवा केवल एउटा पुरानो कुवा मात्र नभई लमजुङको इतिहास, राजपरम्परा, जनविश्वास र सांस्कृतिक पहिचानको जीवित साक्षी हो। रानीकुवा, लमजुङ दरबार, रानी चौतारा, ऐतिहासिक धारा तथा कुस्माखर घिमिरेसँग सम्बन्धित सम्पदालाई एउटै संरक्षण तथा पर्यटन परिपथका रूपमा विकास गर्न सकिए यसले लमजुङसँगै नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्