ईद अल–अधाको अवसरमा यूएईबाट १११ नेपालीलाई आममाफी

काठमाडौ, २३ असार । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधाको अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएई सरकारको निर्णयप्रति आभार व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा १११ नेपाली नागरिकलाई आममाफी दिने निर्णय गरिएको हो।

आममाफी प्राप्त गरेका नेपालीमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले नेपाल र यूएईबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै आममाफीको निर्णयलाई दुई देशबीचको सद्भाव र मित्रताको महत्वपूर्ण प्रतीकका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्