प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंकका अध्यक्षबीच भेट, २५ अर्ब रुपैयाँ सहुलीयतपूर्ण ऋण सम्झौताबारे छलफल
काठमाडौ, २३ असार । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको विकासका प्राथमिकता, द्विपक्षीय सहकार्य र एसियाली विकास बैंकले गर्दै आएको सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जेनजी आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री नियुक्त भएलगत्तै अध्यक्ष कान्दाले सामाजिक सञ्जालमार्फत नेपालको विकासका प्राथमिकतामा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कान्दाको नेपाल भ्रमणकै क्रममा नेपाल र एसियाली विकास बैंकबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता पनि भएको छ। उक्त ऋण दुई विकास आयोजनामा लगानी गरिने जनाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए।












प्रतिक्रिया दिनुहोस्