अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश, अमेरिका स्तब्ध 

काठमाडौं, २३ असार। जारी फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै ल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे ।

खेलको नवौं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।

त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याए । खेलको ५७औं मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रताको दूरी बढाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाए ।

योसँगै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो बनेको बेल्जियम २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ ।

यो हारसँगै २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै बनेको छ । यसले अमेरीका स्तब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्