कर्णाली र दुर्गम क्षेत्रमा २जीमै सीमित, ५जी तयारीसँगै असमानता बढेको सांसद रानाको आरोप
काठमाडौंं, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी रानाले देशमा दूरसञ्चार सेवाको असमान वितरण भइरहेको भन्दै सरकारको कडा आलोचना गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रानाले राजधानी काठमाडौँ ५जी सेवाको तयारीमा अगाडि बढिरहेको अवस्थामा कर्णाली र दुर्गम हिमाली क्षेत्रका नागरिक अझै पनि २जी सेवामा सीमित रहनुपरेको बताइन्।
उनले यो अवस्थालाई प्रविधिको मात्र होइन, अवसर, पहुँच र समान अधिकारको गम्भीर असमानता भएको टिप्पणी गरिन्।
सांसद रानाले भनिन्, ‘काठमाडौँले ५जीको कुरा गरिरहँदा कर्णालीका नागरिकहरू २जीमै सीमित रहनु स्वीकार्य हुन सक्दैन।’
उनका अनुसार डोल्पा, हुम्ला, मुगु, बाजुरा र जाजरकोट लगायतका दुर्गम जिल्लामा अझै पनि भरपर्दो सञ्चार सेवा नहुँदा शिक्षा, स्वास्थ्य, बैंकिङ र सरकारी सेवा प्रवाहमा ठूलो समस्या देखिएको छ।
विशेषगरी डोल्पाका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकाका नागरिकले सञ्चार सुविधाको अभावमा भोग्नुपरेको कठिनाइ उनले सदनमा उल्लेख गरिन्।
उनले गर्भवती महिला, किसान तथा विद्यार्थीहरूलाई समेत सञ्चार सेवाको अभावले प्रत्यक्ष असर परेको बताइन्।
सांसद रानाले सञ्चार सेवालाई विलासिता नभई जीवन रेखा भएको उल्लेख गर्दै कर्णाली तथा दुर्गम हिमाली क्षेत्रमा तत्काल सुधार आवश्यक रहेको बताइन्।
उनले आगामी कात्तिकभित्र कर्णाली र अन्य दुर्गम क्षेत्रमा अनिवार्य रूपमा ४जी सेवा विस्तार गर्न सरकारसँग माग गरेकी छन्।












प्रतिक्रिया दिनुहोस्