प्रदेश संरचना र अभिव्यक्तिबारे कांग्रेसको प्रश्न, आङ्देम्बेद्वारा सरकारमाथि आलोचना

काठमाडौंं, २२ असार । प्रदेश सभा खारेजी र प्रदेश संरचनासम्बन्धी राजनीतिक दृष्टिकोणबारे प्रतिनिधि सभामा बहस भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश सभा खारेजीसम्बन्धी नीति र संघीय सरकारका अभिव्यक्तिबीच विरोधाभास रहेको भन्दै प्रश्न उठाएका छन्।

उनले चुनावअघि वर्तमान प्रधानमन्त्रीले संघीयतालाई बलियो बनाउने प्रतिबद्धता जनाएको स्मरण गराउँदै पछि रास्वपाको महाधिवेशनबाट प्रदेश सभा खारेजीको प्रस्ताव पारित हुनु कति मेल खाने विषय हो भन्ने प्रश्न गरे।

आङ्देम्बेले रास्वपाले प्रदेश सभालाई संघीयताको मेरुदण्ड मानिँदै आएको संरचना खारेजीको राजनीतिक दृष्टिकोण अघि सारेको भन्दै त्यसबारे स्पष्टता आवश्यक रहेको बताए।

त्यसैगरी उनले संघीय मन्त्री सुनिल लम्सालले प्रदेश मन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने जस्ता अभिव्यक्ति दिएको विषयप्रति पनि आपत्ति जनाए।

उनले जननिर्वाचित पदाधिकारीविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति स्वीकार्य नहुने भन्दै यस्तो शैलीले संघीय संरचना र लोकतान्त्रिक अभ्यास कमजोर हुने टिप्पणी गरे।

आङ्देम्बेले प्रदेश मन्त्री र स्थानीय जनप्रतिनिधिलाई लक्षित गरेर दिइएका अभिव्यक्तिबारे सरकारको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने माग समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्