कर्णाली बस दुर्घटनालाई लिएर संसदमा ज्ञानेन्द्र शाहीको आक्रोश, ‘मन्त्रीका लागि हेलिकप्टर उड्यो, उद्धारका लागि उडेन’
काठमाडौंं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाको उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै प्रतिनिधिसभामा सरकारको कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले दुर्घटनाका बेला मन्त्रीको सवारीका लागि हेलिकप्टर प्रयोग गरिएको तर उद्धारका लागि परिचालन नगरिएको भन्दै सरकारमाथि प्रश्न उठाए।
उनले असार १८ गते दैलेखमा कर्णाली नदीमा बस खस्दा यात्रुहरू जीवन बचाउन गुहार गरिरहे पनि समयमै उद्धार हुन नसकेको बताए।
शाहीले दुर्घटनाका क्रममा एक व्यक्ति भीरमा अड्किएर सहयोगको प्रतीक्षामा रहे पनि उद्धार हुन नसक्दा ज्यान गुमाउनुपरेको उल्लेख गरे। उनले त्यही समयमा आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि रहेको दाबी गरे।
उनका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुग्न आवश्यक साधनको अभाव थियो। सुर्खेतबाट उद्धार टोली पुग्न करिब पाँच घण्टा लागेको र हेलिकप्टर समयमै परिचालन नभएका कारण मानवीय क्षति बढेको उनले बताए।
शाहीले प्रदेश सरकारको निर्णय पनि ढिलो आएको उल्लेख गर्दै २४ घण्टापछि मात्रै उद्धारसम्बन्धी निर्णय भएको आरोप लगाए। उनले सुरक्षाकर्मी घटनास्थलमा पुग्दा उद्धारभन्दा पनि घटनाको कानुनी प्रक्रिया पूरा गर्न पुगेको टिप्पणी गरे।
दुर्घटनामा आफूले पनि आफन्त गुमाएको उल्लेख गर्दै शाहीले सरकारसँग दया नभई जवाफ चाहिएको बताए। उनले कर्णालीका नागरिकको जीवनको मूल्य अन्य क्षेत्रका नागरिकसरह हुनुपर्ने भन्दै विपद्का बेला उद्धार प्रणाली प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
असार १८ गते दैलेखस्थित कर्णाली नदीमा बस खस्दा पाँच जना बेपत्ता भएका थिए। दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने कैलालीमा फेला परेका दुई शव पनि सोही दुर्घटनासँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। बेपत्ता यात्रु तथा बसको खोजी कार्य अझै जारी रहेको छ।












प्रतिक्रिया दिनुहोस्