पर्सामा १०२ किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाडौंं, २२ असार । पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री सडकमा भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकी खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा कारभित्र १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया नवलपुर निवासी ३२ वर्षीय गुड्डु बर्मा रहेका छन्। उनीले चलाएको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको स्पोर्ट्स कारबाट उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीले जानकारी दिए।
प्रहरीले गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्