‘कर्जा विस्तार रोकिँदा आर्थिक वृद्धि प्रभावित भयो’ : पूर्वगभर्नर चिरञ्जीवि नेपाल

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारलाई निरुत्साहित गर्ने नीतिका कारण मुलुकले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसकेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिमाथिको छलफलमा बोल्दै उनले कर्जा विस्तारबिना आर्थिक गतिविधि र आर्थिक वृद्धि सम्भव नहुने बताए।

उनले राष्ट्र बैंकलाई पूर्ण स्वायत्त रूपमा काम गर्न नदिँदा सरकारको दबाबमा विभिन्न नीतिगत निर्णय लिनुपरेको दाबी गरे। विगतमा सरकारले नै कर्जा विस्तारमा कडाइ गर्न दबाब दिएको र त्यसको असर अहिलेको आर्थिक अवस्थासम्म देखिएको उनको भनाइ थियो।

पूर्वगभर्नर नेपालले विगतमा १८ देखि २० प्रतिशतसम्म कर्जा विस्तार हुँदा ६ देखि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको स्मरण गराउँदै अहिले १२ प्रतिशतको लक्ष्य राखिए पनि कर्जा विस्तार ५–६ प्रतिशतसम्म पनि पुग्न नसकेको बताए।

उनले नेपालको करिब ४० प्रतिशतभन्दा बढी अर्थतन्त्र अनौपचारिक क्षेत्रमा आधारित रहेकाले कर्जा विस्तार सुस्त हुँदा पनि अर्थतन्त्र पूर्ण रूपमा ठप्प नभएको उल्लेख गरे।

कर्जा विस्तारलाई आर्थिक समस्याको मुख्य कारणका रूपमा प्रस्तुत गर्नु गलत भएको उनको भनाइ छ। उनले उत्पादन, लगानी र आर्थिक गतिविधि बढाउन कर्जा प्रवाह विस्तार अपरिहार्य रहेको भन्दै लामो समयसम्म कर्जा विस्तार रोक्ने नीति मुलुकको आर्थिक वृद्धिका लागि उपयुक्त नहुने बताए।

प्रतिक्रिया दिनुहोस्