सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढिरहेको छ : प्रचण्ड

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा नेकपा उपत्यका प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार सुशासन र विकासका लागि नभई संविधानले महिला, दलित, आदिवासी तथा जनजातिलाई दिएको अधिकार खोस्ने उद्देश्यका साथ अघि बढिरहेको दाबी गरे।

उनले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियन अधिकार कटौती गर्ने तथा सीमासम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम सरकारले गरिरहेको आरोप लगाए। यी विषयमा आफूले संसदमा आवाज उठाइसकेको र आगामी दिनमा पनि सरकारको कामकारबाहीबारे थप सशक्त रूपमा बोल्ने बताए।

प्रचण्डले वाम आन्दोलनले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्नु ठूलो कमजोरी भएको स्वीकार गरे। त्यसको मुख्य जिम्मेवारी आफूले लिने उल्लेख गर्दै विगतका गल्तीबाट शिक्षा लिएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले आफू तीन पटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै नेतृत्वको भूमिकाप्रति आत्मसमीक्षा आवश्यक रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्