आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण दत्त पौडेल UN सम्मेलनका लागि अमेरिका प्रस्थान

काठमाडौं, २१ असार । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेल संयुक्त राष्ट्रसंघ (UN) को प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आइतबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन्। दुवै जना न्युयोर्कमा जुलाई ७ देखि ९ सम्म हुने उक्त सम्मेलनमा सहभागी हुनेछन्।

दान बहादुर कार्की र नारायण दत्त पौडेल को भ्रमण मन्त्रिपरिषद्ले पहिले नै स्वीकृत गरिसकेको छ। यो सम्मेलन हरेक वर्ष आयोजना हुने र सदस्य राष्ट्रका प्रहरी प्रमुखहरू सहभागी हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो।

आईजीपी कार्कीको अनुपस्थितिमा नेपाल प्रहरीको नियमित प्रशासनिक कामकाजका लागि पहिलो वरीयताका एआईजी राजन अधिकारी लाई निमित्त जिम्मेवारी दिइएको छ। यसबारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्ले ले जानकारी दिएका छन्।

त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि पहिलो वरीयताका एआईजी वंशीराज दाहाल लाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ। दाहाल हाल सशस्त्र प्रहरीको सीमा सुरक्षा विभाग प्रमुख हुन्।

यसअघि सामान्यतया प्रहरी संगठन प्रमुखसँगै युएन मुख्यालयका सम्बन्धित अधिकारी र अन्य दुई प्रतिनिधि पनि सहभागी हुने अभ्यास रहँदै आएको भए पनि यस पटक मन्त्रिपरिषद्ले आईजीपीद्वयको मात्र भ्रमण स्वीकृत गरेको प्रहरी स्रोतहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्