प्रलोपा आरोप: बालेन्द्र शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख

काठमाडौं, २१ असार । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले बालेन्द्र शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ। आइतबार सार्वजनिक गरिएको पार्टीको १०० दिने कार्यप्रगति समीक्षा प्रतिवेदनमा सरकारले प्रारम्भिक रूपमा केही सकारात्मक कदम चाले पनि समग्र रूपमा जनअपेक्षा पूरा गर्न नसकेको निष्कर्ष निकालिएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी ले विज्ञप्तिमा सरकारभित्र शक्ति केन्द्रीकरण बढेको, राजनीतिक असहमतिप्रति असहिष्णुता देखिएको तथा संवैधानिक संस्थाहरूको भूमिकालाई सीमित गर्ने प्रवृत्ति बढेको आरोप लगाएको छ। यस्ता अभ्यासहरूले लोकतान्त्रिक प्रक्रिया कमजोर बनाउँदै सरकार अधिनायकवादतर्फ अघि बढिरहेको संकेत दिएको पार्टीको दाबी छ।

पार्टीले सरकारका केही प्रारम्भिक प्रयासहरू—जस्तै सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने, प्रशासनिक सुधारका प्रयास गर्ने र अनावश्यक औपचारिकता घटाउने—लाई सकारात्मक भने पनि ती पर्याप्त नभएको उल्लेख गरेको छ। उसका अनुसार यी प्रयासहरूले सुशासन, आर्थिक सुधार र सामाजिक न्यायको अपेक्षित अनुभूति दिन सकेका छैनन्।

प्रधानमन्त्री बालेन्द्र शाहको एक अभिव्यक्तिको पनि पार्टीले आलोचना गरेको छ। सीमा सम्बन्धी विषयमा उनले दिएको भनाइलाई गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत भएको आरोप लगाउँदै पार्टीले सरकारको स्पष्ट धारणा माग गरेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र नीतिगत अभिव्यक्तिहरूले राष्ट्रिय अडान कमजोर बनाउने जोखिम बढाएको प्रलोपा निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्