प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ, १५ लाख ५० हजार रुपैयाँ ठगीको आरोप

काठमाडौं, २१ असार । आफू प्रहरीको असई हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा इलाम नगरपालिका–१० की ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले आफू प्रहरीको असई भएको दाबी गर्दै असईको पोसाक समेत प्रयोग गर्ने गरेकी थिइन्। पोसाक लगाएको फोटो देखाएर विभिन्न आश्वासन दिँदै पीडितबाट ई–सेवा तथा मोबाइल बैंकिङमार्फत पटक–पटक गरी १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीका अनुसार ती महिलाले प्रहरीको परिचय दुरुपयोग गरी विश्वास दिलाएर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गोंगबुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्