कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयमा आर्थिक हिनामिनाको आरोप, इन्स्पेक्टरसहित दुई पक्राउ

काठमाडौं, २१ असार । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा भएको भनिएको आर्थिक हिनामिनाको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विद्यालयमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। प्रहरीले आइतबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको निष्कर्षसहित कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।

प्रहरीका अनुसार विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामा राखी करोडौं रुपैयाँ हिनामिना गरिएको आशंकामा अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा लेखा प्रमुख गुरुङलाई घटनाको मुख्य योजनाकारका रूपमा शंका गरिएको छ।

यसअघि सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनका क्रममा सम्बन्धित व्यक्तिहरूको संलग्नता देखिएको निष्कर्षपछि थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइएको हो।

गुरुङ विगत करिब ६ वर्षदेखि उक्त विद्यालयमा लेखापालको रूपमा कार्यरत रहेको बताइएको छ। यस प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको स्रोतले जनाएको छ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्