ग्लोबल आइएमई बैंकको एआई/एमएल ह्याकाथन २०२६ सुरु, १४ टोलीको सहभागिता
काठमाडौं, १९ असार । ग्लोबल आइएमई बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्। बैंकले नेपालमा बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पहिलोपटक ह्याकाथन आयोजना गरेको थियो। यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरिएको हो।
विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित प्रतियोगितामा खुला आवेदनमार्फत छनोट भएका १४ टोली सहभागी छन्।
दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताको पहिलो चरणमा सहभागीहरूले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ।
प्रतियोगितामा सहभागी टोलीहरूले बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने एआई तथा एमएलमा आधारित नवीन अवधारणा प्रस्तुत गर्ने बैंकले जनाएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका भावी सेवा विकास र यस क्षेत्रमा रहेका चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसर पनि प्रदान गरिनेछ।
हाल ग्लोबल आइएमई बैंकले देशभर ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।







प्रतिक्रिया दिनुहोस्