मेचीनगरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट

काठमाडौं, १९ असार । मेचीनगर नगरपालिका–१४, दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भएर आगो लागेको हो।

आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, लत्ताकपडा तथा अन्य सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रज्जन आवले जानकारी दिए।

आगलागीपछि स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको भए पनि घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्