केयू दीक्षान्तमा १,५२७ विद्यार्थी दीक्षित, प्रधानमन्त्रीको अनुपस्थितिमा पहिलोपटक मन्त्रीद्वारा अध्यक्षता

काठमाडौं , १९ असार । काठमाडौं विश्वविद्यालय (केयू) को दीक्षान्त समारोहमा यस वर्ष १ हजार ५२७ जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको इतिहासमा पहिलोपटक कुलपति तथा प्रधानमन्त्रीको अनुपस्थितिमा समारोह सम्पन्न भएको हो।

शुक्रबार केयू परिसरमा भएको दीक्षान्त समारोहको अध्यक्षता शिक्षा तथा खेलकुद मन्त्री तथा सहकुलपति सस्मित पोखरेलले गरेका थिए। यसअघि दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्रीले अध्यक्षता गर्ने परम्परा रहँदै आएको थियो।

समारोहमा सहभागी पोखरेल स्वयं चार वर्षअघि केयूबाट दीक्षित पूर्वविद्यार्थी हुन्। विश्वविद्यालयका कुलपति प्रधानमन्त्री बालेन शाह हाल केयूमै अध्ययनरत रहेको पनि उल्लेख गरिएको छ।

दीक्षान्त समारोहमा विभिन्न स्कुलबाट गरी १,५२७ विद्यार्थी दीक्षित भएका छन्। जसअनुसार स्कुल अफ आर्ट्सबाट १६१, स्कुल अफ एजुकेसनबाट ११२, स्कुल अफ इन्जिनियरिङबाट ३५५, स्कुल अफ लबाट ४२, स्कुल अफ मेनेजमेन्टबाट १४६, स्कुल अफ मेडिकल साइन्सेजबाट ५०४ र स्कुल अफ साइन्सबाट २०७ विद्यार्थी दीक्षित भएका हुन्।

दीक्षितमध्ये विद्यावारिधि तहका २१, एमफिल तथा रिसर्च तहका ९३, स्नातकोत्तर तहका २७९, पीजीडीई तहका २ तथा स्नातक तहका १ हजार १३२ विद्यार्थी रहेका छन्।

लैङ्गिक तथ्यांकअनुसार दीक्षितमध्ये ८०० जना (५२.३९ प्रतिशत) पुरुष र ७२७ जना (४७.६१ प्रतिशत) महिला रहेका छन्। साथै ७ देशका १७९ विदेशी विद्यार्थी पनि दीक्षित भएका छन्, जुन कुल संख्याको ११.७२ प्रतिशत हो। यो संख्या अघिल्लो दीक्षान्तको तुलनामा करिब ५० प्रतिशतले बढी भएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले यसपटक पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स, डाक्टर मेडिसिने इन नियोनाटोलोजी र मास्टर अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलेकुलर बायोलोजी कार्यक्रमका चार जना विद्यार्थीलाई समेत उपाधि प्रदान गरेको उपकुलपति हृषिकेश वाग्लेले जानकारी दिए।

कार्यक्रममा सहकुलपति पोखरेलले सरकारले देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्