त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ

काठमाडौं, १८ असार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष थापालाई शपथ गराएका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

त्यसैगरी, शिक्षा मन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र संस्थागत सुधारमा काम गर्ने बताए।

थापाले विश्वविद्यालयको विगतको गौरवशाली इतिहासलाई स्मरण गर्दै २१औँ शताब्दीका चुनौती सामना गर्न संस्थाको समग्र उन्नति र विकासका लागि निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्