भारत र चीनलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन बाबुराम भट्टराईको सुझाव

काठमाडौं, १६ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बदलिँदो विश्व शक्ति सन्तुलनलाई मध्यनजर गर्दै नेपालले भारत र चीनलाई प्राथमिकतामा राखेर आफ्नो परराष्ट्र नीति पुनःसमायोजन गर्नुपर्ने बताएका छन्।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर सिरिज कार्यक्रममा बोल्दै उनले अमेरिकी एकध्रुवीय विश्व व्यवस्थाको युग समाप्त हुँदै गएको र विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको उल्लेख गरे। उनका अनुसार भारत र चीन उदीयमान आर्थिक तथा रणनीतिक महाशक्ति बनेकाले नेपालले दुवै देशसँगको सम्बन्धलाई सन्तुलित र व्यावहारिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ।

“भारत र चीन नेपालका छिमेकी हुन्। दुवैको बढ्दो वैश्विक प्रभावलाई ध्यानमा राख्दै नेपालले आफ्नो परराष्ट्र नीतिलाई सावधानीपूर्वक पुनःसमायोजन गर्नुपर्छ,” उनले भने।

भट्टराईले नेपालले भारत र चीनबीच आर्थिक तथा रणनीतिक पुलको भूमिका निर्वाह गर्न सक्ने धारणा राखे। सन् २०१२ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भएको भेटमा पनि आफूले चीन र भारतबीच साझा आर्थिक समृद्धिका लागि नेपाललाई पुलका रूपमा विकास गर्ने प्रस्ताव राखेको स्मरण गरे।

उनले नेपालले आफ्नो भूराजनीतिक अवस्थालाई अवरोध नभई अवसरका रूपमा उपयोग गर्न सके दुवै छिमेकीको आर्थिक प्रगतिबाट लाभ उठाउँदै दीर्घकालीन आर्थिक विकासको आधार तयार गर्न सकिने बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपालले कुनै एकल वैचारिक दृष्टिकोणमा सीमित नभई बहुलवादी र व्यावहारिक आदर्शवादमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको रक्षा र दिगो आर्थिक विकास हुनुपर्छ।

आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म राजनीतिक स्वतन्त्रताको पूर्ण अभ्यास सम्भव नहुने उल्लेख गर्दै उनले छिमेकी राष्ट्रहरूको सुरक्षा चासोप्रति संवेदनशील रहँदै नेपालले दुवै देशप्रति तटस्थ नीति अपनाउनुपर्ने बताए।

नेपाल शान्ति राष्ट्रको पहिचानलाई थप सुदृढ गर्दै युद्ध र हिंसाविरुद्ध विश्वस्तरमा अग्रणी आवाज बन्न सक्ने उनको भनाइ थियो। यसका लागि वैज्ञानिक मानववादलाई मार्गदर्शक दर्शनका रूपमा अघि बढाउनुपर्ने उनले बताए।

भट्टराईले आफ्नो मन्तव्यको अन्त्यमा नेपाललाई “दुई ढुंगाबीचको तरुल” भन्दा “लालीगुराँसजस्तो फूल” का रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे। नेपालको भूराजनीतिक अवस्थालाई चुनौती मात्र नभई अवसरका रूपमा उपयोग गर्न सके देश समृद्धिको मार्गमा अघि बढ्न सक्ने उनको विश्वास थियो।

प्रतिक्रिया दिनुहोस्