प्रहरी नियन्त्रणमा रहेको बेला आत्मदाह हुनु गम्भीर लापरबाहीः यातायात व्यवसायी
काठमाडौं, ६ असोज । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा। ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाप्रति यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी क्षतिपूर्ति दिन माग गरेका छन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुग्दा आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमन अवरुद्ध भएपछि चालक दोङले हर्न बजाएका थिए। हर्न बजाएकै निहुँमा ट्राफिक प्रहरीले बस रोकी कागजात मागेर कारबाही गर्न खोजेको र चालकले आफूबाट गल्ती नभएको बताएपछि विवाद सुरु भएको विज्ञप्तिमा उल्लेख छ ।
ट्राफिक प्रहरीले यात्रुहरूलाई ओरालेर करिब २ घण्टासम्म बसलाई नियन्त्रणमा लिएको र चालकलाई हप्काएको विज्ञप्तिमा दाबी गरिएको छ। त्यसपछि बसलाई बग्गीखानामा लैजान खोज्दा चालकले प्रतिवाद गरेको र ट्राफिक प्रहरीको मानसिक दबाब र हैरानी सहन नसकी आफ्नो शरीरमा आगो लगाएको संघसंस्थाहरूको जिकिर छ।
ट्राफिक प्रहरीको नियन्त्रणमै रहेको बेला चालकले आत्मदाह प्रयास गर्नु राज्यकै गम्भीर लापरबाही भएको उनीहरूले ठहर गरेका छन्।
यस घटनालाई लिएर यातायात व्यवसायी र मजदुर संघसंस्थाहरूले ९ बुँदे माग अघि सारेका छन् । उनीहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन् । विज्ञप्तिमा पूर्ण रूपमा जलेको बसधनीलाई पनि क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
ती संघसंगठनहरूले सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक र दोषीलाई कारबाही गर्न माग गरेका छन् । यातायात श्रमिकलाई श्रम ऐन लागू गरी रोजगार सम्झौता कायम गरेर मात्र काममा लगाइयोस् र सामाजिक सुरक्षामा आबद्ध गराउन र ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, हैरानी र झमेला विरुद्ध उजुरी गर्न २४ घण्टे हेल्पलाइन तथा द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्न पनि सम्बद्ध संघसंस्थाहरूले माग गरेका छन् ।
उनीहरूले सडकमा ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीमाथि पनि छानबिन गर्न पनि माग गरेका छन् । ‘ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउँदै सरोकारवालासहितको अनुगमन संयन्त्र निर्माण गरियोस्,’ उनले भने ।
ट्राफिक प्रहरीलाई दिइएको तजबिजी अधिकारको दुरुपयोग रोक्न अधिकार प्रत्यायोजनलाई पुनर्व्यवस्थित गर्न पनि उनीहरूले माग गरेका छन् ।
यी मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्न ६ वटै महासंघ तथा संघका अध्यक्षहरू रहेको संयुक्त संघर्ष समिति गठन गरिएको छ। माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा संयुक्त संघर्षका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।
उक्त विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल ट्रक यातायात महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले हस्ताक्षर गरेका छन्।








प्रतिक्रिया दिनुहोस्