त्रिविको दलीय विद्यार्थी संगठन संरचना हटाउने निर्णयविरुद्ध १० विद्यार्थी संगठनको विरोध
काठमाडौं, १६ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गरेपछि १० विद्यार्थी संगठनहरूले त्यसको विरोध जनाएका छन्।
विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णय विद्यार्थी अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएका छन्।
उनीहरूले सरकार, अनुदान आयोग र त्रिवि प्रशासनलाई उक्त निर्णय तत्काल फिर्ता लिन चेतावनी दिँदै यसलाई “निरंकुश र स्वेच्छाचारी कदम” भनेका छन्।
विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशको अवहेलना गरिएको दाबी गर्दै निर्णयले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको आरोप लगाइएको छ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सरकारको निर्णयअनुसार विश्वविद्यालय परिसरबाट दलीय संरचना हटाउन निर्देशन दिएको थियो।
सरकारले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संरचना हटाई ९० दिनभित्र विद्यार्थी परिषद् वा वैकल्पिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो।
यसै निर्णयको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलित बनेका हुन्।







प्रतिक्रिया दिनुहोस्