राष्ट्रिय सभाबाट विनियोजन विधेयक २०८३ माथि विचार गर्ने प्रस्ताव स्वीकृत
काठमााडौं, १५ असार । राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबारको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले विधेयक जनमुखी भएको दाबी गरे।
मन्त्री वाग्लेका अनुसार बजेटमा शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा केही मात्रामा कर समायोजन गरिएको छ। उनले निजी विद्यालयमा प्रगतिशील कर लगाउने व्यवस्था ‘सक्नेले नसक्नेलाई सहयोग गर्ने’ अवधारणामा आधारित रहेको स्पष्ट पारे।
उनले मध्यम वर्गलाई राहत दिन आयकर नलाग्ने सीमा वृद्धि गरिएको जानकारी पनि दिए।
मन्त्री वाग्लेले वर्तमान सरकार आउनुअघि नै बजेटको सिलिङ तय भइसकेकाले संवैधानिक निकायहरूको बजेट वृद्धि गर्न नसकिएको बताए। उनले बजेटलाई महत्वाकांक्षी आर्थिक विकास लक्ष्यअनुसार ल्याइएको उल्लेख गर्दै अर्थ मन्त्रालयमा सुधारमार्फत कार्यान्वयन प्रभावकारी बनाइने दाबी गरे।
छलफलमा सहभागी सांसदहरू पदमबहादुर परियार, मदनकुमारी शाह (गरिमा), रोशनी मेचे, नारायणदत्त मिश्र, सोमनाथ पोर्तेल र विष्णुकुमारी सापकोटाले विधेयकबारे आफ्ना धारणा राखेका थिए।
राष्ट्रिय सभाको अर्को बैठक असार १७ गते दिउँसो १ः१५ बजे बस्नेछ।







प्रतिक्रिया दिनुहोस्