त्रिविका आंगिक क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन
काठमााडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपप्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षरमा जारी पत्रमार्फत सबै आंगिक क्याम्पसलाई उक्त निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको हो।
निर्देशनालयका अनुसार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको निर्देशनबमोजिम विश्वविद्यालय अनुदान आयोगमार्फत त्रिविलाई विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनिएको हो।
पत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज प्रतिनिधित्व हुन नसक्नु तथा शैक्षिक गुणस्तरमा आएको गिरावटलाई सम्बोधन गर्न ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, ९० दिनभित्र विद्यार्थी परिषद् वा विद्यार्थी आवाज संयन्त्र गठन गरी विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि पत्रमा उल्लेख छ।
त्रिविले उक्त निर्देशन कार्यान्वयन गरी सोको जानकारी यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन सबै आंगिक क्याम्पसलाई अनुरोध गरेको छ।







प्रतिक्रिया दिनुहोस्